बिपिन रानाभाट,बुलिङटार,नवलपुर । सबैजसो खेतमा लहलह धान झुलेर किसानहरु त्यसलाई भित्राउने तयारीमा छन् । कतिपय खेतका धान भित्राइएको पनि छ ।
तर नवलपुर जिल्लाको पहाडी गाउँपालिका बुलिङटार २ का ६० प्रतिशत किसान भने बर्षभरी के खाने भन्ने कुराले चिन्तित् छन् ।
भाङवारीको करिब १०० बिघा (१३ सय बढि रोपनी) खेत रोपाई हुन कुलोमा पानी बग्नुपर्छ तर कालिगण्डकी करिडोर बिस्तार गर्ने क्रममा कुलामै सडक बनाइदिएपछि खेत बाँझै भएको हो । पछि पानी जानेगरी सानो ट्रयाक खनिएको भएपनि माथिबाट ठूलो पहिरो झरेपछि कुलो पुरै पुरिएको थियो । बाँझो हुँदा करीब २०० परिवारमा बिहान बेलुका चुल्हो बाल्न गाह्रो पर्ने स्थानीयले बताएका छन् ।
किसानहरुले साठीकुलोको मैदानै गएको र पछि ट्याक खोलिदिएको भएता पनि बर्षातको समयमा माथिबाट खसेको पहिरोले कुलो भत्कीएको र समयमै सम्बन्धित निकायले पहल नर्गदा कुलो बनाउन नसकिएको बताए ।नजिकै बगेको लादी खोलाबाट सधैँ कुलो भरी पानी बगिरहन्थ्यो तर यस पटक लादी खोला समेत उर्लिदा थप समस्या बढेको हो ।
साविक डाँडाझेरी गाविकासका सवै जसो वडाका मानिसहरुको उक्त ठाउँमा खेत रहेको छ । पहाडी भेग भएकाले वर्खामा गाडी चल्न समेत कठिन हुने उक्त ठाउँमा भएको खेत समेत रोप्न नपाएपछि चिन्ताले सताउन थालेको किसानहरुले बताएका छन् ।
छोटो र सजिलो कुलो हुदाँहुदै पनि खेत रोप्न नसकीएको प्रति उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर गंरजा मगरले दुखेसो पोख्नुभयो । साथै गाउँपालिकाको नेतृत्व र ठेकेदार कम्पनी इ के के प्रति गुनासो गर्नुभयो ।
कुलो भत्काएपछि नबनाउँदा किसानहरुले आक्रोश पोखेका हुन् । खेत बाँझै हुनेभएपछि किसानहरु गाउँपालिकामा कुलो बनाइदिन माग गर्दै डेलिगेशन समेत गएका थिए । उक्त समय गाउँपालिका अध्यक्ष शसिकिरण बस्ताकोटीले तत्काललाई पहिरो हटाएर अस्थायी ट्रायक खोलिदिने बताउनुभएको थियो । तर किसानहरुले उक्त समाधान दीर्घकालिन नभएको भन्दै स्थायी रुपमा कुलो बनाउनुपर्ने अडान राखेका थिए । कुलो बनाउन गाउँपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अव पक्की कुलो बनाए मात्रै समस्याको समाधान हुने भन्दै अझ बजेट बढाउनुपर्नेमा किसानहरुको माग रहेको छ । उक्त रकम, पक्की कुलो बनाउन पर्याप्त नभएकोले प्रदेशले पनि बजेट बिनियोजन गरी चाँडै पक्की कुलो निर्माणको वातावरण बनाइदिन समितिका सचिब मनप्रसाद भाटले आग्रह गर्नुभयो । २० लाख विनियोजन गरिएको बजेटका लागि चाँडै सम्झौता गरेर काम गर्ने तयारी भइरहेको बताइएको छ ।
लगातारको बर्षाका कारण देशको बिभिन्न स्थानका धानमा नराम्रोसँग क्षति पुगेको छ । बिभिन्न ठाउँमा किसानहरुले काटेको धान, बाली डुबाएको र बगाएको छ ।
किसानले बर्ष भरी गरेको मेहेनत , परिश्रम खेर जाँदा आँखाभरी आँशु लिएर भविष्यमा के खाने भन्ने प्रश्न गरिरहेका छन् । यस्तो अवस्थामा यति धेरै क्षेत्रफलको खेत बाँझै रहदा खाद्यन्न अभाव हुने होकी भन्ने चिन्ता अझ बढेर गएको छ ।
बेमौसमको वर्षाले कृषिमा पुर्याएको क्षतीको विवरण लिएर अब सरकारले नोक्सान व्यहोरका किसानलाई उचित छतिपूर्तिको ब्यबस्था गर्न माग उठीरहेको छ ।